शान्ति !
********(१)
शान्ति ! तिम्रोलागि मरिहत्ते गर्नेहरु,
असीमित माया गर्नेहरु ,
चाहनामा छटपटाउनेहरु ,
थुप्रै थुप्रै थिए यहाँ l तर .........
तर तिमि त चटक्कै छोडेर गयौ l
अनन्त यात्रामा निक्लिए झैं ,
अफ्नाहरुलाई पनि धुरु धुरु रुवाएर ,
आफू पनि डाँको छोड्दै गयौ तिमी,
शायद ,कहिल्यै नफर्कने गरेर ?
(२)
तथाकथित महामनाहरुले ,
अति निर्दयता र निर्ममता पूर्वक ढोका थुनेर कुटे तिमीलाई l
बारुद ,बन्दुक र हतियारले, नाङ्गो आक्रमण गरे तिमीलाई l
तिम्रो शरीरभरि नीलडामै नीलडाम भयो l
तर तिम्रो क्रन्दन कसैले सुनेन l
तिम्रो प्रलापलाई कसैले बुझेन l
कङ्कला शब्दले चिच्याइरह्यौ तिमी l
तिम्रो आवाजलाई कुल्चेर दबाइदिए l
त्यसैले त बस्नै नसकेर गयौ तिमी,
शायद, कहिल्यै नफर्कने गरेर ? (
३)
नराधमहरुले निर्वस्त्र नाङ्गो पारे l
चिथोरे,कोपरे र रगतपच्छे बनाए l
पटक पटक तिम्रो अस्मिता लुटिरहे,
निसहाय भएर रोइ रह्यौ ,रोइ रह्यौ l
तिम्रोलागि,कोहि बोलेनन् l
यसको बिरुद्धमा कोहि चिच्यायेनन l
सबै मुक दर्शक मात्र भएर उभिइरहे l
असहनीय पीडाले तिमी छटपटाइ रह्यौ l
तिमीलाई कसैले सहानुभूति देखाएनन् l
खपिनसक्नु भएर त गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ? (
४)
तिमी जानै लाग्दाको क्षण !
मुकुण्डोधारीको स्वार्थी जमात देखेर
काटेको बाख्रो जस्तै छटपटायेकी थियौ l
बलिन्द्र आँशुले लथपथियेकी थियौ l
तिमीलाई कसैले मायाले सुमसुम्याएनन् l
तिम्रो वेदनालाई गम्भीरतापूर्वक लिएनन् l
तिमीलाई कसैले पनि रोक्न खोजेनन l
बारम्बार तिरष्कृत र अपमानित भैरह्यौ l
बेमतलव र बेवास्ताको शिकार बनिरह्यौ l
पीडैपीडा ले छटपटायेर गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ?
(५)
तिमी कहाँ पुगेकिछ्यौ ?
कसैलाई पनि थाहा छैन l
तिमी कहाँ हराएकी छ्यौ?
कसैले पनि खोजी गरेकै छैन l
तिमी फर्केर आउँछ्यौ वा आउदिनौ,
कसैलाई यसको चासै छैन l
तिमीलाई बोलाउने कुराहरु सुनिन्छन् ,
तर ती सबै देखावटी मात्रै हुन् l
तिमीलाई फर्काउने कुराहरु बोलिन्छन ,
तर ती सबै धोकाबाजी मात्रै हुन् l
तिम्रो के खाँचो र यहाँका बादशाहहरुलाई ?
तिम्रो के आबश्यकता र रक्तपिपाशुहरुलाई ?
उनीहरु त सधैं मस्त छन् ,रमेका छन् l
नयाँ नयाँ सुरा र सुन्दरीको साथमा l
नयाँ नयाँ बेगमहरुकै साथमा l
यस्तै अचाक्ली भएर त गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ? (
६)
तिम्रो ! आगमनको प्रतिक्षा गर्नेहरु पनि धेरैछन l
तर विचरा तिनीहरु निरीह छन् l
उनीहरुको उत्साह टुटिसकेको छ l
उनीहरुको साहश चुडीइ सकेको छ l
तर तिमीलाई बिछट्टै माया गरेकाछन् l
तिमीलाई कुरेर बसेकाछन l
तिम्रो बाटो ढुकेर बसेका छन् l
आशै आशमा तड्पेर बसेका छन् l
चाहना गर्नेहरु अनगिन्ति हुँदाहुँदै पनि ,
टिक्नै दिएनन् र त गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ? (
७)
शान्ति ! सक्छ्यौ भने एकपल्ट फर्कीदेऊ l
मृत्यु शय्यामा सुतिसकेका महामनाहरुलाई,
एक घुट्को जीवनजल पिलाइदेऊ l
फेरी एकपल्ट बौरेर उठिहाल्छन कि ?
आफ्नो भूलको प्रायश्चित गरिहाल्छन कि ?
तिम्रो आगमन पछि पनि, उस्तै उस्तै पुनरावृत्ति भैरह्यो भने ,
तिमी सदा सदाकोलागि जाऊ l कहिल्यै नफर्कने गरेर जाऊ l
अनि ! यहाँका भीष्मपितामह भै टोपलेकाहरु ,
चारैतिर सन्नाटा छाइसकेको कुरुक्षेत्रलाई ,
शरशैय्यामा सुतेर ढुकिरहनेछन,ढुकिरहनेछन l
लासैलासको डंगूर लागेको,
रणभूमिलाई हेरिरहनेछन् हेरिरहने छन् l
हराइसकेको आफ्नो अस्तित्वलाई ,
खोजी रहनेछन, खोजी रहनेछन l --
कोमल भट्ट, नैकाप ,काठमाडौँ l
हाल :- न्युयोर्क ,USA . 4 October ,2012 (Thursday )
-->
2 comments:
कोमल भट्ट Sir,
धेरै धेरै धन्यवाद है सर यो रचना उपलब्ध गराएर सहयोग गर्नु भाकोमा कतै कतै हर्फ्हरु दोशी पनि छन जस्तो छ तर सुन्दर रचनाको अगडी सबै पुरियो नि, शुभ पल ।
प्रिय देवेन्द्र सर! अत्यन्तै मीठो प्रतिक्रियाकोलागि हार्दिक धन्यबाद छ कृपया दोष बताइदिनुभए अत्यन्तै आभारी हुने थिएँ र सच्याउने मौका पाउने थिएँ, धन्यबाद l
Post a Comment